मन्त्रीकेन्द्रित बजेट जनमुखी हुन सक्दैन

Date : June 5, 2025


संघीयतासँगै हामी तीन तहको सरकारको अभ्यासमा छौँ । यतिखेर तीनै तह (संघ, प्रदेश र स्थानीय)को नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता र बजेटको काम सकिएको छ । प्रदेशमा विषयगत मन्त्रालयका छलफल कर्मकाण्डी रूपमा चलिरहेका छन् ।

आज देश नीतिगत भ्रष्टाचारको चङ्गुलमा छ । जसलाई सामान्य नागिरकले पनि बुझ्न र आकलन गर्न सक्छन् । यसले गर्दा बुद्धिजीवी वर्ग, महिला, जनजाति, दलित, सीमान्तकृत, सचेत युवा, लामो समयदेखि आफ्नो जीवन सामाजिक सेवामा त्याग गरेका व्यक्तित्वहरू र आम नागरिकले खिन्नताको अनुभूति गरिरहेका छन् । नीतिगत भ्रष्टाचारको सवाल विशेषतः बजेट विनियोजनका बेला उठ्ने गर्छ । 

केन्द्रमा सत्तारूढ दलले प्रदेश सरकारहरूलाई प्रभाव पार्ने प्रयास गर्ने हुँदा स्वायत्तता कमजोर भएको छ । नीति संवादमा दलगत राजनीति हाबी हुँदा दीर्घकालीन समाधानभन्दा अल्पकालीन फाइदामुखी नीतिले प्राथमिकता पाएको छ । यसर्थ योचोटिको नीति, सिद्धान्त र बजेटले केही व्यक्तिभन्दा बाहेक आम नागिरकलाई खिन्न पारेको छ । सामाजिक सञ्जाल, चियाचौतारी र सार्वजनिक यातायातमा समेत बागमती सरकारको उँधोगतिको चर्चा हुन थालेका छन्  ।

यो सुनिरहँदा म मेरो जिम्मेवारीप्रति सचेत छु । गलत कुराको खबरदारी गर्छु । सत्य कुरालाई आत्मसात गर्दछु । नागरिकको आवाज बोल्न छाड्दिनँ र सरकारलाई रचनात्मक सहयोग गरिरहन्छु । सरकार बन्ने तरिका र सञ्चालनका प्रक्रिया हामी सबैले नजिकबाट देखेर, भोगेर वा सुनेर मनन् गरेकै छौँ । अरू प्रदेशको तुलनामा बागमती प्रदेशप्रति सबैको ध्यान विशेष तरिकाबाट थियो नै । संघीय राजधानी, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरू रहेको ठाउँ र राजस्व संकलन तथा वितरणका दृष्टिकोणले यो प्रदेश अपेक्षामा रहनु स्वाभाविक देखिन्छ । नागरिकले सरकारप्रति नै हो आशा गर्ने तर नेपालका दुई ठुला दलको गठबन्धन सरकारले ल्याएको बजेट (२०८२/८३)ले नागरिकको आशालाई निराशामा बदलेको छ । सिद्धान्त तथा प्राथमिकतामा सदनमा बोलेको कुरा, नीति तथा कार्यक्रममा बोलेका कुरामा सुन्दा लाग्थ्यो— जनपक्षीय बजेट आउनेछ, एकद्वार प्रणालीको नीतिलाई कार्यान्वयनमा ल्याउनेछ, लुप होलहरू बन्द गरिनेछन् । 

मलाई भने नेटमा खोजेर ल्याएका रमाइला नारा र सरकारको आलोकाँचो बोलीप्रति कति पनि विश्वास थिएन । मलाई डर थियो, आफैँ शंकामा धेरै डुबेँ कि भनेर तर होइन रहेछ । सरकारले १५ दिनमै पुष्टि गरिदियो, आफ्नो असली चित्र र चरित्र ।

Source
ratopati.com
Read all

Scroll to Top