कराइँमा पकाउने भन्दा डस्टबिनमा फाल्ने तरकारी धेरै

Date : September 1, 2024
कराइँमा पकाउने भन्दा डस्टबिनमा फाल्ने तरकारी धेरै
प्रदेश साँसदको जिम्मेवारीमा रहे पछि प्रदेश राजधानी हेटौँडा, संघीय राजधानी काठमाण्डौ र गृह जिल्ला सिन्धुली नियमित ओहोरदोहोर गरिरहनु पर्छ । कहिले भाडाको टाटा सुमोमा यात्र   गर्छौँ त कहिले साथीहरुको गाडीमा लिफ्ट लिएर । यसरी ओहोरदोहोर गर्दा बाटोभरी सिजन अनुसारका फलफुल र तरकारी किसानले दैलोमा, टहरामा, पसलमा सजाएर राखेको पाउँछौँ । किसानको पसिनाको कदर गर्दै हामी गाडी रोकेर आफुलाई मन पर्ने तरकारी फलफुल झोला भरी लिए आउँछौ, यति सम्म विश्वास लाग्छ कि किसानको पसिनामा विषाधी मिसिएको हुँदैन र बजार भन्दा दुइपैसा सस्तो पनि होला । गाडी रोक्ने बित्तिकै पसलेहरु आ-आफुले राखेको सामग्रीको नाम भन्दै किन्नलाई बोलाउँछन् र गाडीबाट झरेको देखेँ पछि अघि भन्दा दोब्बर भाउ गर्छन, बार्गेनिङ गर्न खोज्दा “मिल्दैन फिक्स हो” भन्छन । मलाई तरकारीमा स्कुसको मुन्टा खुब मन पर्छ प्राय लिए आउँने गर्छु । एक दिन धेरै ठाउँमा स्कुलको मुन्टा खोज्दै आउँदा प्राय देखि रहने ठाउँमा देखिँन अलि पर पुगेपछि एउटा टहरोमा देखेपछि गाडीबाट ओर्लेर लिन गएँ  तर मन खुशी हुने खालको थिएन, पकाए खाउँ खाउँ जस्तो पनि थिएन तर उनको मेहनत देखेर किनेँ । साथीहरुले पनि नल्याएको भए हुन्थ्यो भन्दै कराउन थाले । भोली पल्ट मकैको च्याख्लासँग घ्यूमा पकाएर हरियो काँक्रो, अकबरे खुर्सानीसँग खाउँला भनेर तरकारी केलाउन भान्सा तिर गएर एक मुठो खोलेर केलाउन थाल्दा एक फिट भन्दा लामो स्कुसको मुन्टामा खान लायकको एक छाक पुग्ने  साग पनि निकाल्न सकिँन । अनि मनमा प्रश्न खेल्न थाल्यो कसले पैसा लियो, कस्ले पैसा तिर्यो?, कति लियो, कति तिर्यो? त्यो ठुलो कुरा होइन तर यहाँ कोहि भन्दा कोहि कमी छैनन् । पाउँदा सम्म कसैले पनि बाँकी राख्दा रहेनछन भन्ने कुरा अहं हो । समाज बिग्रेकोमा नियमित गाली खाने नेताहरु हुन । तर यहाँ नेपालीले ठाउँ पाउँदा सम्म जे पनि गर्छन र गर्न पछि पर्दैनन् भन्ने उदाहरण मात्र हो । यो एउटा सामान्य उदाहरण मात्र हो यस्ता लुकेका कुरा कति छन् कति । आफुले जो गर्दा पनि हुन्छ, अरूले चाहीँ हुन्न भन्ने भाष्य सँस्कार जस्तै बनिसकेको छ । नेता भनेको समाजको औसत उत्पादन हो । त्यसैले भुइँस्तरबाटै समाज संस्कारी र इमान्दार हुन जरूरी छ । सभ्य समाज निर्माणको लागि हामी सबै आ-आफ्नोस्तरबाट योगदान र मेहनत गर्न जरूरी छ ।

Scroll to Top